FAQs Complain Problems

इच्छाकामना गाउँपालिकाको आयोजनामा १०९ औं नारी दिवस भव्यताका साथ मनाईयो

कुरिनटार, २४ फागुन, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले बालिका बचत कार्यक्रम औपचारिक रुपमा सुरु गरेको छ ।गाउँपालिकाले १०९ औं विश्व नारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि बालिका बचत कार्यक्रमको औपचारिक रुपमा सुरु गरेको हो । कार्यक्रममा चालु आर्थीक वर्ष २०७५/०७६ को साउन देखि हालसम्ममा स्वास्थ्य केन्द्रमा जन्मिएका इच्छाकामना गाउँपालिका भित्रका २३ जना बालिकाहरुको नाममा बैंकमा खाता खोलिएको जानकारी दिईएको थियो । साथै उक्त खातामा गाउँपालिकाले जम्मा गरिदिने भनिएको प्रति बालिका १० हजार रकमको चेक गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बालिकाका अभिभावकलाई हस्तान्तरण गरिएको छ । उक्त चेक रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गर्भमा नै लिङ्ग पहिचान गरि बालिका हत्या गर्ने कार्यलाई निरुत्साहीत र बालिकाको शिक्षामा जोड दिन गाउँपालिकाले बालिका बचत कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो –‘यो कार्यक्रमले कम्तिमा पनि भोलिका दिनमा बालिकाको उच्च शिक्षाको लागी सहयोग पुग्नेछ भन्नेमा हामी आशावादी छौं ।’गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट निति तथा कार्यक्रममा नै समावेश गरेर यो कार्यक्रमको सुरुवात गरेको उहाँले जानकारी दिनुभयो । यस कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाखको बजेट व्यवस्था गरेको छ ।अहिलेलाई स्वास्थ्य केन्द्रमा जन्मेका बालिकाहरुलाई मात्र यो कार्यक्रममा सहभागिता गरिने भए पनि आगामी दिनमा सबै बालिकाहरुलाई यो कार्यक्रममा जोड्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘आगामी दिनमा हामीले बालिका बचत कार्यक्रमलाई निरन्तरता दिनको लागि कोष स्थापना गरिनेछ र उक्त कोषबाट नै हामी कार्यक्रमलाई निरन्तरता दिनेछौं । गाउँपालिकाले लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार तथा समृद्ध परिवार सुखि नारी, इच्छाकामना गाउँपालिकाको जिम्मेवारी भन्ने नाराका साथ १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको हो ।

आर्थिक वर्ष: