इच्छाकामना गाउँपालिकाको संक्षिप्त परिचय

इच्छाकामना गाउँपालिकाको नक्सा

हाम्रो देश नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये चितवन जिल्लामा एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका व्यवस्था भएको छ । यी सात स्थानीय तहहरु मध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँपालिका हो । लामो झरना जलविरे, सिराईचुली, हात्तीवाङ ऐतिहाँसिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर रहेको पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त गाउँपालिका हो । यो गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित रहि आएको छ । यस गाउँपालिकाको पूर्वमा धादिङ्ग जिल्ला पश्चिममा तनहूँ तथा भरतपुर महानगरपालिका, उत्तरमा गोर्खा र दक्षिणमा कालिका नगरपालिका रहेका छन् । राजधानी काठमाण्डौं देखि करिब १०० कि.मि. दक्षिण पश्चिममा रहेको यो गाउँपालिका समुन्द्री सतह ५०० मि.उचाइ देखि १५०० मि.उचाइमा अवस्थित छ । २७º४८ु३५.३९ुु उत्तरीअक्षांश देखि ८३º३४ु९७.५ुु पूर्वी देशान्तर सम्म फैलिएको छ । क्षेत्रफल १६६.६७ वर्ग किलोमिटर रहेको यस गाउँपालिका चितवन जिल्लाको एक मात्र गाउँपालिका हो । यस गाउँपालिकामा ७ वटा वडाहरु छन् । वि.स. २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २५०१२ रहेको मध्ये १२५५२ महिला र १२४६० पुरुष छन् । वि.स. २०७४ को निर्वाचन तथ्याङ्ख अनुसार कुल मतदाता ११७१७ रहेको छ । साविक दारेचोक, चण्डिभञ्ज्याङ्ग, काउले र दाहाखानी गा.वि.स.का सबै वडाहरुलाई मर्ज गरेर ७ वटा वडाहरु रहेको यस इच्छाकामना गाउँपालिका जनजातिहरुमा (गुरुङ्ग, मगर, तामाङ्ग, नेवार, थकाली) अति सिमान्तकृत चेपाङ्ग, अल्पसंख्यक मुस्लिम तथा खस आर्यमा ब्रामहण, क्षेत्री, ठकुरी र दलित बसोबास गर्छन । विभिन्न जातजाति एवम् भाषा, धर्म र संस्कृति भएको यस क्षेत्रमा जनजातिको बाहुल्यता रहेको छ ।