शोक वक्तव्य
इच्छाकामना गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष होम बहादुर राना मगरको ३८ बर्षको उमेरमा बिरामी भई उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा मिति २०७७।१०।२० गते भएको असामयिक स्वर्गारोहणले हामीलाई मर्माहत एवं स्तब्ध बनाएको छ ।शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
बुबा रणबहादुर राना मगर र आमा दिलमाया राना मगरको कोखबाट २०३८ सालमा चितवन जिल्लाको इच्छाकामना-५, खर्पनमा जन्मनुभई बि.सं २०५८ सालमा चितवन जिल्ला इच्छाकामना -४, चेरेश, केबलकारमा बसाई सरी आउनुभएका राना मगरको आमा, एक श्रीमती र एक छोरी हुनुहुन्छ ।
अत्यन्तै सरल र सहयोगी स्वभावका बिकासप्रेमी राना मगर वडाको बिकास र वडाबासीको समृद्धिका साथै समग्र गाउँपालिकाको बिकासमा अहोरात्र क्रियाशील हुनुहुन्थ्यो । लामो समय विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहि क्रियाशील रहनुभएका उहाँ २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई इच्छकामना गाउँपालिका वडा नं ४ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले सिङ्गो इच्छाकामना गाउँपालिका परिवारलाई अपूरणीय क्षति पुगेको छ । उहाँले वडा नं ४ र समग्र गाउँपालिकालाई पुर्याउनुभएको अतुलनिय योगदानको उच्च कदर गर्दछौँ ।
अन्त्यमा यस शोकको घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन एवं आफन्तहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । साथै दिवंगत वडा अध्यक्ष होम बहादुर राना मगरको सम्मानमा मिति २०७७ माघ २२ गते गाउँपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरु बन्द हुने जानकारी गराउँदछौँ ।
२१ माघ २०७७
गिता कुमारी गुरुङ
अध्यक्ष